You are here
Home > मनोरञ्जन > ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ भव्य रूपमा सम्पन्न

ओसाकामा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ भव्य रूपमा सम्पन्न

ओसाका । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्दै नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले जापानको ओसाकामा आयोजित ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

अक्टोबर १२ तारिख ओसाकास्थित कोको प्लाजा हलमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक चक्र बम र गायिका रेखा जोशीले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। गायक बमको लोकप्रिय गीत ‘ओइ काजल, आँखी लगाइदे गाजल’ गुञ्जिँदा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए। त्यसैगरी, गायिका जोशीले ‘कानैमा लाउला सुन’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले स्वरमा स्वर मिलाउँदै मनोरञ्जन लिएका थिए।

कार्यक्रममा गायक तथा मोडल अंकित सिंह ठकुरी, नृत्य तथा मोडलिङ क्षेत्रमा सक्रिय विशाल शाही र अमन कुँवर, कलाकार प्रविन विश्वकर्मा तथा कार्यक्रम सञ्चालक एवं गायक प्रकाश रसाइलीलगायतको प्रस्तुतिले सांस्कृतिक साँझलाई थप आकर्षक बनाएको थियो।

जापानमा हुर्किरहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई आफ्नो मातृभूमिको कला, संस्कृति र पहिचानसँग जोड्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ। जापानमा रहेका सुदूरपश्चिमेली तथा अन्य नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष धर्मराज पाध्यायले बताए।

कार्यक्रममा अतिथिका रूपमा सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष विकास रोकाय, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष दिलिप कँडेल, नवलपुर समाज जापानका अध्यक्ष हरि प्रसाद कँडेल, एनआरएनए कान्साईका संयोजक भीम घर्तीमगर, कोबे विश्वविद्यालयका प्राध्यापक डा. भरत नेगी, कर्णाली प्रदेश समाज कान्साईका अध्यक्ष झरेन्द्र कुँवर अन्जान, गल्कोट समाज कान्साईका अध्यक्ष सन्देश बुढाथोकी तथा नवलपुर समाज कान्साईका अध्यक्ष समुन्द्र पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो।

प्रवासमा सुदूरपश्चिमको मौलिक संस्कृति र पहिचानको प्रवर्द्धनसँगै सामाजिक एकता अभिवृद्धि गर्ने तथा मातृभूमिमा विपद्मा परेकाहरूका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Top