गाउँ र विदेशमा रहेका युवाको सहकार्यमा ठोरीको आठघरेमा सडक बत्ती जडान खुसी बाँडे खुसी बढ्छ July 25, 2026 ठोरी (पर्सा), साउन ९ । पर्साको ठोरी गाउँपालिका–५ स्थित आठघरे गाउँमा स्थानीय तथा विदेशमा रहेका युवाहरूको संयुक्त पहलमा सडक बत्ती जडान गरिएको छ। लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा स्थानीयवासीलाई आवतजावत गर्न असहज हुनुका साथै अन्धकारका कारण विभिन्न जोखिमसमेत रहँदै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत गाउँमा रहेका र वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा विदेशमा बस्दै आएका आठघरेवासी युवाहरूले संयुक्त रूपमा अभियान सञ्चालन गरेका हुन्। युवाहरूको आर्थिक सहयोग, श्रमदान र आपसी समन्वयमा गाउँका आवश्यक विभिन्न स्थानमा सडक बत्ती जडान गरिएको अभियानमा संलग्न युवाहरूले बताएका छन्। बत्ती जडानसँगै रातिको आवतजावत थप सहज र सुरक्षित हुनुका साथै गाउँको वातावरण उज्यालो तथा व्यवस्थित बन्ने अपेक्षा गरिएको छ। अभियानमा गाउँमा रहेका युवासँगै विदेशमा रहेका आठघरेवासीले आर्थिक तथा अन्य आवश्यक सहयोग गरेका थिए। स्थानीयवासी तथा शुभेच्छुकहरूले समेत अभियानलाई सफल बनाउन विभिन्न ढंगले सहयोग पुर्याएका छन्। अभियानमा संलग्न युवाहरूले सडक बत्ती जडानलाई गाउँको समग्र विकासका लागि सामूहिक रूपमा अघि बढाइएको प्रयासको सुरुवातका रूपमा लिएका छन्। आगामी दिनमा गाउँदेखि प्रधानटोल जाने पुल निर्माणसहित शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ तथा अन्य विकास निर्माणका काममा पनि गाउँ र विदेशमा रहेका आठघरेवासीबीचको सहकार्यलाई निरन्तरता दिने उनीहरूले बताएका छन्। अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीय युवा, विदेशमा रहेका आठघरेवासी, स्थानीयवासी, शुभेच्छुक तथा सहयोगीहरूप्रति उनीहरूले आभारसमेत व्यक्त गरेका छन्। “गाउँको विकास कुनै एक व्यक्ति वा निकायको मात्र जिम्मेवारी होइन, गाउँमा बस्ने र विदेशमा रहने सम्पूर्ण आठघरेवासीको साझा दायित्व हो,” अभियानमा संलग्न युवाहरूले भनेका छन्। उनीहरूले आपसी एकता, सहकार्य र सामूहिक प्रयासबाट स्थानीयस्तरका समस्या समाधान गर्दै गाउँको विकासमा योगदान पुर्याउन सकिने भन्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानलाई आगामी दिनमा थप योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।