काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव : गगन थापा Uncategorized June 12, 2022June 12, 2022 २९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गरेका छन् । साथै उनले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत् दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको सम्बन्धमा ६ बुँदामा सुझाव दिएका हुन् । संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेको उल्लेख गर्दै थापाले यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने जनाएका छन् । ‘कहिँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौं, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौं,’ उनले भनेका छन् ।काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेकाले महानगरपालिकालाई सम्पूर्ण महानगरवासीले साथ दिनुपर्ने थापाको आग्रह छ ।काठमाडौं महानगरपालिकाले सिसडोल(बन्चेडाँडाका बासिन्दासँग फोहोर विसर्जनका सम्बन्धमा १७५ औं पटक सम्झौता गरिसकेको भन्दै १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था नआवस् भन्नेमा थापाको जोड छ ।