घाइते जनावर बोक्न भेटरीनरी एम्बुलेन्स सुचारु समाचार June 22, 2022June 22, 2022 ८ असार, ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताउँनु भएको छ । ‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं’उहाँले बताउँनु भयो।