You are here
Home > प्रवास > क्योतोमा नेपाली समुदायको रक्तदान कार्यक्रम सम्पन्न, ४५ जनाको सहभागिता

क्योतोमा नेपाली समुदायको रक्तदान कार्यक्रम सम्पन्न, ४५ जनाको सहभागिता

क्योतो, जापान। जापानको ऐतिहासिक सहर क्योतोमा नेपाली र जापानी नागरिकहरूको संयुक्त सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्योतो नेपाली कम्युनिटीको आयोजनामा आइतबार जेआर निजो स्टेसनमा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गर्दै मानवीय सेवा र नेपाल–जापानबीचको आपसी सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।

‘रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम जापानी रेडक्रस सोसाइटीको प्राविधिक समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा २३ जना नेपाली र २२ जना जापानी नागरिकले रक्तदान गरेको कार्यक्रम संयोजक तथा क्योतो नेपाली कम्युनिटीका वरिष्ठ उपाध्यक्ष शंकर भुसालले जानकारी दिए।

 

जापानमा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले नेपाली र जापानी नागरिकबीचको सहकार्यलाई समेत उजागर गरेको छ।

 

कार्यक्रम संयोजक भुसालले रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। रक्तदानजस्तो मानवीय कार्यमा नेपाली र जापानी नागरिकको उत्साहजनक सहभागिता हुनु सकारात्मक पक्ष रहेको उनले बताए।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई क्योतो नेपाली कम्युनिटीका अध्यक्ष नरेश वली, कार्यक्रम संयोजक शंकर भुसाललगायतले प्रमाणपत्र वितरण गरेका थिए।

जापानमा तेस्रोपटक रक्तदान गरेका शिशिर पराजुलीले रक्तदानमार्फत अरूको जीवन बचाउन योगदान दिन पाउँदा खुसी लागेको अनुभव सुनाए। उनले रक्तदानलाई मानवीय सेवाको महत्त्वपूर्ण माध्यमका रूपमा लिएको बताए।

 

जापानमा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा रहेका नेपालीहरू पछिल्लो समय विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहभागी हुँदै आएका छन्। यस्ता कार्यक्रमले नेपाली समुदायको सामाजिक सहभागिता बढाउनुका साथै स्थानीय जापानी समाजसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

क्योतो क्षेत्रमा करिब सात हजार नेपाली बसोबास गर्दै आएको बताइएको छ। नेपाली समुदायको बढ्दो उपस्थितिसँगै सामाजिक सेवा, सांस्कृतिक आदानप्रदान तथा स्थानीय समुदायसँगको सहकार्यका गतिविधिले पनि महत्त्व पाउँदै गएका छन्।

Leave a Reply

Top