सातामा दुई दिन बिदाले स्वास्थ्य क्षेत्र प्रभावित हुने समाचार May 8, 2022May 9, 2022 आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइड, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । सातामा दुई दिन बिदा दिने सरकारी निर्णय लागू भएको खण्डमा बिरामीले थप सास्ती खेप्नुपर्नेछ । वीरमा अहिले अप्रेसन गराउन पालो कुरिरहेका बिरामी २ हजार हाराहारी छन् । ओपीडीमा दैनिक २ हजारभन्दा बढी बिरामी आउँछन् । प्रसूतिमा पनि दैनिक आउने ३ सयभन्दा बढी गर्भवती र सुत्केरीको जाँच प्रभावित हुने देखिएको छ । सरकारी निर्णय लागू भएमा त्रिवि शिक्षण अस्पतालमा दैनिक ५० जना बिरामीको अप्रेसन प्रभावित हुने अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । ‘स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा नराखी गरिएको निर्णयले सरकारी अस्पताल लथालिंग हुने र निजीलाई पोस्ने काम हुनेछ,’ उनले भने, ‘निर्णयमा सरकारले पुनर्विचार गरोस् ।’ उपत्यकाबाहिरका जिल्लाबाट राजधानीमा उपचारका लागि आउने सर्वसाधारण मात्र नभई सम्बन्धित जिल्ला, क्षेत्रीय अस्पताल र स्वास्थ्य चौकीमा समेत उपचार प्रभावित हुने देखिएको छ । तैपनि तालुकदार निकाय स्वास्थ्य मन्त्रालयले केही निर्णय गरेको छैन । स्वास्थ्य मन्त्रालयमा सरोकारवालासहित बसेको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रले भनिन्, ‘स्वास्थ्यकर्मीको मानसिक, शारीरिक तथा पारिवारिक हिसाबले दुई दिन बिदा दिने निर्णय स्वागतयोग्य छ, सरकारको निर्णय पालना पनि गर्नुपर्छ तर स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले बिनातयारी निर्णय गरेको देखिन्छ ।’ उनले छलफलकै क्रममा रहेकाले धेरै प्रतिक्रिया दिन नमिल्ने बताइन् । सरकारले दुई दिन बिदा दिने निर्णयसँगै दैनिक काम गर्ने समय साढे ९ देखि साढे ५ सम्म ८ घण्टा तोकेको छ । अन्तर्राष्ट्रिय श्रम मान्यताअनुसार सातामा ४० घण्टा पुग्छ तर कडाइका साथ नियम लागू गर्न नसकिने अधिकारकर्मी ज्योति बानियाँले बताए । उनले भने, ‘यो सरासर निजी अस्पताल मोटाउने काम भयो । स्वास्थ्य मन्त्रालयले निर्णय कार्यान्वयन हुनुअगावै सरोकारवालासँग छलफल गरेर विकल्प खोज्नुपर्छ ।’ उनले निर्णयले सबैभन्दा बढी गरिब, अशक्त, अपांगता भएका व्यक्ति प्रभावित हुने बताए । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले पनि निर्णय कार्यान्वयन भए निजी अस्पताललाई फाइदा पुग्ने बताए । ‘अप्रेसनको सूची बढ्नेछ,’ उनले भने । मन्त्रालयका अधिकारीहरूका अनुसार बिदाको दिन काम गरेबापत भत्ता दिनेबारेमा पनि छलफल सुरु भएको छ तर स्वास्थ्यकर्मीले कोभिड महामारीको बेलाकै भत्ता पाउन सकेका छैनन् ।