You are here
Home > समाचार > सुर्योदय नगरमा १५ मिटर सडक विस्तार विवादमा, ‘सुकुम्बासी’ बनाउन खोजेको आरोप

सुर्योदय नगरमा १५ मिटर सडक विस्तार विवादमा, ‘सुकुम्बासी’ बनाउन खोजेको आरोप

आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर नगरबासीलाई ‘सुकुम्बासी’ बनाउन लागेको भन्दै सुर्योदय नगरपालिकाका स्थानीय आक्रोशित भएका छन् ।

मेची राजमार्गको दुवैतर्फ १५ मिटर सडक विस्तार कायम गराउँदा नगर क्षेत्रका अधिकांश बासिन्दा र व्यवसायीहरु बिस्थापित हुने खतरा रहेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार आइतबारेमा पत्रकार सम्मलेनमा बोल्दै सघर्ष समितिका संयोजक शिवकुमार राईले एक्कासी नगरपालिका र जनप्रतिनिधीहरुले स्थानीयसंग परार्मश नगरी १५ मिटर कायम गराउने सुचना प्रकाशन गर्ने कार्य गलत भएको बताए ।

उनले हाल रहेको मेची राजमार्ग विचबाट दुवैतर्फ साढे सात मिटर कायम गराउँदा समेत चार लेनको बाटो बन्न सक्ने भएकाले नगरपालिकाले हचुवाको तालमा जनतालाई सुकुम्बासी बनाउने नियत राखेको बताए ।

सडक ऐन २०३१ लाई मिचेर नगरपालिका अघि बढेको स्थानीयबासीको आरोप छ ।

समितिका सदस्य भिष्म प्रधानले २०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार तत्काल अवस्थामै झापा–इलामको सिमाना जोरकलशदेखी माईखोलासम्म १५ मिटर कायम गर्दा आठसय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको बताए ।

उनले आफुहरु विकास विरोधी नभएको तर विकासका नाममा विनास निम्त्याउन नगरपालिका लागी परेको बताए ।

फिक्कलका व्यवसायी प्रभाकर प्रधानले स्थानिय सरकारले नगरबासीको परामर्श नलिइ विनासमा अगाडी बढदै गएकाले भावी दिनमा यसले ठुलो असर पुग्ने बताए ।

उनले मेची राजमार्ग भित्र पर्ने कन्याम क्षेत्रमा समेत १५ मिटर कायम गर्दै बाटो बढाउने कार्यले पर्यटनको आधार नै खतरामा पर्ने संभावना रहेको बताए ।

उनले राजमार्ग संरक्षणको जिम्मा पाएको डिभिजन सडक कार्यालय र सडक ऐन २०३१ लाई उपेक्षा गर्दै एकल निर्णयका आधारमा नगरपालिकाले विनासको सुरुवात गरेको बताए ।

सरकारी सुचना ३५ दिने निकाल्नुपर्ने प्रावधान भएपनि आफुखुशी १५ दिने सुचना निकालेर जनता त्रसित पार्ने वाहेक अन्य काम जनप्रतिनिधीहरुले नगरेको उनको आरोप छ ।

यता मेचीराजमार्ग क्षेत्राधिकार खाली गर्ने गराउने कार्य संयोजन तथा व्यवस्थापन समितिका संयोजक शिवकुमार बस्नेत आफुहरुले स्थानीय सरकार संचालन ऐन २०७४ ले राष्ट्रिय र प्रादेशिक सडकको क्षेत्राधिकार बढाउने जिम्मा स्थानीय तहलाई दिएकाले सोही ऐन अनुसार सुर्योदय नगर भित्रको मेची राजमार्ग खण्ड १५ मिटर कायम गराउने कार्य अघि बढाएको बताए ।

नगर कार्यपालिकाले गत माघ १२ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर सूर्योदय नगरपालिकाको मेची लोकमार्ग क्षेत्राधिकार खाली गराउनुपर्ने भएकाले सडकको बीच भागबाट दायाँ बायाँ १५/१५ मिटरभित्रको स्थायी तथा अस्थायी संरचना हटाउन आग्रह गरेको थियो ।

नगरपालिकाको क्षेत्रभित्र नेपाल सरकारले वि.स. २०५७ सालमा ५० वर्षे लिज सम्झौता गरी सांघाई समूहलाई दिएको कन्याम चिया बगानसमेत रहेको छ ।

कन्याम चिया बगान क्षेत्रभित्र पर्ने जग्गालाई १५ मिटर कायम गराउने विषयमा सांघाई समूहसँग छलफल भइसकेको र सरकारले सांघाई समूहसँग गरेको सम्झौतामा सडक ऐन, २०३१ ले निर्दिष्ट गरेको दायाँ बायाँ १५ मिटर क्षेत्रमा सडक विस्तारमा सांघाईबाट अवरोध नहुने सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताए ।

Leave a Reply

Top