You are here
Home > विचार > नेपालीपन बचाँउ, देशको विकास गरौं ।

नेपालीपन बचाँउ, देशको विकास गरौं ।

आजभोली हामी नेपाली हौं कि हाइनौं जस्तो लाग्न थालिसक्यो । आफ्नोपन पूर्ण रुपमा हराँउदै गइसक्यो । केहि कुरामा पनि आफ्नोपन बाँकी रहेन । शिरदेखि पाउसम्म लगाउने कुरा हेर्दा पनि त्यस्तै छ । हामीले हाम्रा रितिरिवाज धर्म, संस्कृति सबै कुरा आगन्तुकसंग मिलाउन थालिसक्यौं । बोलिचाली देखि हाउभाउ सबै विदेशी भइसक्यो ।

हामीले बोल्ने भाषाबाट शुरु गरौं । हामी बोल्दा अंग्रेजी मिसिएन भने आफुलाई पाखे, गाउँले, अनपढ वा असभ्य भएको भान हुन थाल्यो । अनि राम्रोसंग नेपाली लेखपढ नजान्ने मान्छेले पनि आजभोली बोल्दा लगभग २०÷२५५ अंग्रेजी मिसाएर बोल्न थालिसके । यति मात्र कहाँ हो र, कति नेपाली शब्द त लोप नै भईसके । आजकाल जुक्ती हराइसक्यो आइडिया आयो, पाठशाला हराएर स्कुल, खतरा हराएर डेन्जर, माया हराएर लब, कोठा हराएर रुम, सडक हराएर रोड, खुशी हराएर ह्याप्पी, अलिकति हराएर लिटल, जस्ता हजारौं शब्द हराईसके ।

हामीले लगाउने कमिज, सुरुवाल, दौरा, बुस्कोट, चौबन्दी चोली लोप भईसके । हुँदाखाँदाको पाइन्ट च्यातेर प्वाल पारेर लगाउने चलन आयो । सबै शिरदेखि पाउसम्म विदेशी ब्राण्ड अनि खोई त नेपालीपन कहाँ छ ? कसले चिन्छ ? यसरी सबै कुरा लोप हुंदैछ । खानपिन पनि त्यस्तै भईसयो । हिजो हामीले खाने कोदाको रोटी, ढिंडो, तरकारी चिउरा, पुवा पानीरोटी, खोइ कहाँ गए ? कसले खान्छ ? आज त बजारका अनेकौं प्रकारका खाना खाजा छन् । हिजो हामीले खाने घ्यु, मह, नुन खोर्सानी आज कता गए ? किन हामीले नखाएको ? हेर्नुस आजको मिष्ठान्न भोजन भन्दा हिजोका रोटी, ढिंडो, पुवा धेरै राम्रो थियो शरिरका लागि । तर खोई केका लागि किन ? कसले लोप गरायो ? यो सबले हामीलाई एकदिन पछुत्तो लाग्ने छ तर त्यतिबेला ढिलो भईसक्छ ।

आजभोली बनेका घरहरु हे¥यो त्यस्तै लाग्छ । सबै युरोप, अमेरिका, जापान, केरियाका जस्ता छन् । बनाउँदा पनि सबै सामाग्री आयातित मात्र प्रयोग गरिएका छन् । धर्म संस्कृति पनि त्यस्तै भइसक्यो, मान्छेले धर्म परिवर्तन गर्न थाले । परिवर्तन नगरे पनि मान्न छाडिसके । दशैं तिहार जस्ता पर्वमा टाढा टाढाबाट वर्ष दिनमा मात्र भए पनि पर्व मनाउन आउने गर्दथे जहाँबाट भए पनि, तर आजकाल भएका पनि चाडवाड मान्न छाडेर विदेश घुम्न जाने चलन आएको छ । आफ्नो जन्मदिनमा मठमन्दिर गएर पुजाआजा गरेर दुःखी गरिबलाई भोजन गराएर मनाउने गरिन्थ्यो तर आजभोली केक काटेर होटलमा तामझामका साथ मनाउन थालियो । विवाह ब्रतवन्ध पनि त्यस्तै देखावटी भइसके । अन्य चाडवाड तिज, जनैपुर्णिमा, औशी पुर्णिमा सबै त्यस्तै भइसक्यो । धेरै युवापुस्ताले चाडपर्व मनाउन छोडि नै सकेका छन् । मठ मन्दिरमा पनि देखावटी आउजाउ हुन थाल्यो । मान्छे मर्दा गर्ने काज किरिया पनि देखावटी हुन थाल्यो सबै आधुनिकताका नाममा सक्कि नै सक्यो । अनि यो सबै केका लागि गरिएको हो ? कसलाई फाइदा हो ? किन हो ? भन्ने कुरा कसैलाई थाहा नहुन सक्छ । यदि कसैलाई फाइदा छैन भने किन त ? बरु यसरी अरुको धर्म संस्कृति परम्परा अनुसार कार्य गर्दा आफ्नोपन लोप हुन गई देशकै पहिचान हराउँदै छ । यस कारण हामी नेपाली भएको नाताले हामी हाम्रो परम्परा, धर्म संस्कृति, भाषा, रितिरिवाज बचाउनु हाम्रो कर्तव्य हो । यदि हामी यसरी आफ्नोपन बचाउन नलाग्ने हो भने एकदिन हिजोको त्यो ढिकि कुटेको, घट्टमा मकै पिंधेको, कुवामा पानी उभाको, जाँतोमा सातु पिंधेको, चौरमा मोजाको भकुण्डो बनाएर खेलेको, मारुनी नाचेको, चौथीको नाममा बारीमा काँक्रो चोरेर खाएको , यस्ता हाम्रा चलन लोप हुनेछन् र इतिहास मात्र होइन दन्ते कथा बन्ने सम्भावना छ । त्यसकारण हामी आजैदेखि यस्ता कुराको बचावट गर्न लागौं । देशको पहिचान बचाऔं ।

विकास भनेको अरुको नक्कल गरेर मात्र हुने होइन । आफ्नो देशमा भएका अन्य देशका भन्दा फरक कुराको जगेर्ना गरेर उनीहरुलाई आकर्षित गरेर पनि गर्न सकिन्छ । अन्य देशमा गयो भने त्यहाँका आफ्ना सबै रहनसहनको जगेर्ना गरिएको पाईन्छ । अनि हामी त्यहि हेर्न यहाँबाट लाखौं खर्च गरेर जान्छौं । त्यसरी नै यदि हामीले हामी कहाँ भएको सबै कुरा संरक्षण गर्न सक्ने हो भने हाम्रो देश त्यसकै कारण विश्वको धनी देश बन्न सक्छ । हाम्रो देशमा जस्तो भाषा, संस्कृति, रितिरिवाज अन्य देशमा विरलै पाईन्छ । यसकारण देशका तीन वटै तहका सरकार, हामी आम नागरिकले साँच्चै देशको विकास चाहेको हो भने आजैबाट लागौँ । केहि वर्षमा नै यो देशको विकास भई देशको पहिचान समेत बच्नेछ ।

Leave a Reply

Top