You are here
Home > प्रवास > मानबिय सहयोगको नाममा ब्यापार नगरौ

मानबिय सहयोगको नाममा ब्यापार नगरौ

 

-नरेन्द्र बस्नेत (दिनेश), जापान

हामी नेपालीहरु मनकारी छौ, अत्यन्तै मनकारी छौ, त्यसैले त सधै आफुले सकी नसकी दुख गरेर कमाएको पसिनाको कमाइ क्षण भरमै अरुको सहयोगको लागि दिन तुरुन्तै तत्पर भइहाल्छौ।

आजभोली जापानमा मात्रै होइन सम्भबत नेपालीहरु पुगेको अधिकांस देशहरुमा फेसबुक चन्दा आतंक अथवा सामाजिक संजाल मार्फतको चन्दा आतंकले यस्तरी जरो गाडेको छ कि जसले सहयोगको नाममा जातीय रंग,क्षेत्रीय रंग र प्रदेशीय रंग,राजनीतिक रंगले नजानिदो पाराले नेपालीलाई विभाजित गराउदै गैरहेको आभास हुन थालेको छ ।

संचार जगतले चरम प्रगति गर्दै अगाडी बढेको आजको युगमा फेसबुक लगायतका सामाजिक संजालहरु चलाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। संसार ब्यापी रुपमा यसले धेरै राम्रो प्रभाब पनि छाडेको छ तर माल पाएर चाल नपाउनेहरुको लागि यसले सामाजिक बिकृतिहरु भित्रयाउदै छ।

पछिल्लो समयमा हाम्रो नेपाली समाजमा यस्ता खालका सान्चारिक प्रगतिहरुको सदुपयोग भन्दा दुरुपयोग बढ्दो छ र यसले बिकृति भित्रयाउदै छ। 

रेमिटान्सले धानेको भन्दा फरक नपर्ने खालको हाम्रो मुलुकमा विदेश भनेपछि पैसा बोट बाटै फल्छ जस्तो ग्रसित मानसिकता अझै ब्याप्त छ र त्यसै मानसिकता बाट ग्रसित भएर नेपालमै पनि सानो तिनो केहि भयोकि बिदेशमा हुने कुनै व्यक्ति या संस्थाको माध्यम बाट भए पनि चन्दा उठाउन भन्ने मान्यता ब्याप्त हुदै गएको छ । त्यो सम्बन्धित देशमा हुने मानिश पनि आफु जति सुकै पिडामा होस् या नसक्ने अबस्थामा भएपनि उसले त्यसलाई जिम्मा लिने आट पनि गरिहाल्छ(यद्दपि यो सबैमा लागु हुन नसक्ला पनि) । साइबर कानुन यसका प्राबिधिक र कानुनी पाटो हरु लाइ ख्यालै नगरी यत्र तत्र जसले पनि आफु खुसि मनलाग्दी तरिकाले चलाउने चन्दा संकलन का कार्यहरु तिब्र हुदै गएको आजको समाजमा कुन कति आधिकारिक हो अथवा कुन कति सुनियोजित तरिकाले मान्छेको भाबना संग खेलबाड गरि रकम संकलन गर्न मात्रै गरिएको क्रियाकलाप हो बुझ्न गार्हो हुदै गएको जर्जर अबस्था छ। आजभोलि चन्दा संकलनको कार्यमा पनि गाउ गाउ ब्यापी रुपमा बढ्दै गएका असंख्य संस्थाहरुको कारणले अत्यधिक बर्चस्व भएका व्यक्तिहरुको क्षेत्रको मानिशको लागि अथवा त्यस क्षेत्रको संघ संस्था अन्तर्गतको मानिसको लागि अभियान चलाएमा आबस्यकता भन्दा बढी अन्धाधुन्द  रकम संकलन हुने विकृत परम्परा छ भने कुनै समाज अथवा आफु नेपालमा भएको ठाउका मानिशहरु को बर्चस्वो कम भएको ठाउको मानिशको लागि सहयोगको आबस्यकता पर्यो भने झन्डै झन्डै बेवारिसे नै जस्तो बन्ने परम्परा छ । यसबाट जोगिनको लागि केहिले भने एन.आर.एन ले केहि गरेन अथवा राजदुताबासले केहि गरेन भनेर तथानाम गालि गरेर आफुहरु आफ्नो जिम्मेवारी बाट पन्छिने खालको परम्परा पनि फस्टाउदो छ।

नेपालको कहिँ कतै केहि हुदा व्यक्तिगत रुपमा अथवा प्राकृतिक बिपतीको रुपमा जुन रुपमा भएपनि जापान बासि नेपाली हरु पनि सरिदय आफुसंग दुख नै भए पनि सकी नसकी सहयोग गर्न तत्पर हुन्छन र सहयोग र घटनाको प्रकृति अनुसार त्यसले केहि समय जापानको अनलाइन मेडिया र फेसबुक मा भाइरल बन्छ र त्यो समाचार सुन्ने र पढ्ने हरुले जापान बाहिर बाट पनि सहयोग गरौ भन्दै कमेन्टको बर्षा गराउन थाल्छन तर कसैले पनि एकत्रित भएर कसरि सहयोग गर्ने भन्ने तिर सोच्दैनन् अथवा सस्तो लोकप्रियताको यो अवसर गुम्ला भनेर सोच्ने फुर्सद पाउदैनन।

जापानमा चन्दा संस्करणको विकृत घटना हरु अनबरत रुपमा चलिरहेको छ यसको नियन्त्रण र निराकरण त्यति सजिलो होला जस्तो पनि छैन यद्दपि सोच्नु पर्ने बेला भने भएको छ।

च्याउ जस्तै उम्रेका संस्थाहरुले मात्रै नपुगेर व्यक्तिगत रुपमा चन्दा उठाउनेहरु पनि त्यतिकै छन्,जापानको नियम कानुन अनुसार जाने हो भने चन्दा उठाउदा पनि उठेको रकम बाट कर तिर्नु पर्ने व्यवस्था छ तर यो बिषयमा  चन्दा उठाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु कति जानकार हुनुहुन्छ हुनुहुन्न थाहा भएन।

कुनै बिषय र प्रसङ्गलाइ लिएर कुनै एउटा समाज अथवा संघ संस्थाले निश्चित कोषको  गठन गर्दै  सम्पूर्ण जापानबासी नेपाली र संघ संस्था लाइ आफ्नो अभियानमा एक्यबद्दता जनाउदै त्यसमा  सहयोगको लागि अपिल गर्दै गर्दाको अवस्थामा पनि अन्य संघ संस्थाहरुले त्यसलाई स्वीकार गर्दै  एकताको संदेश दिदै सहयोग गर्ने परिस्थिति सृजना भएमा  जापानबासी नेपालीमा एउटा नमुना पूर्ण संदेश मुलक परोपकारी कार्यको नमुना पेश हुने थियोकि जस्तो लाग्छ तर आजको दिनसम्ममा त्यसो हुन नसकी सबैले आफूखुसी मनलाग्दी तरिकाले उठाएर सम्बन्धित व्यक्ति अथवा ठाउमा  सम्पर्क गरि बुझाउने तिर तछाड मछाड गरेको मात्रै देखिन्छ । यो क्रम अझै चलिनै रहेको छ। कसैले जातीय संस्था बाट सुरु गर्छन,कसैले राजनीतिक संस्था बाट पनि सुरु गर्छन,एन.आर.एनले पनि आफु अन्तर्गतका क्षेत्रीय समितिहरुलाइ उर्दी जारि गर्छ त्यसै गरि भए भरका अन्य संघसंस्था हरु पनि तेतिकै तछाड मछाड गरेर लाग्छन तर ठुलो मन भएका हामी नेपालीहरु मध्ये कसैले पनि एक भएर एकत्रित गर्दै एकताको संदेश दिदै अगाडी बढौ भन्ने तिर बिबेक पुर्याउन सक्दैनौ अझ भनौ मन गरेका छैनौ । जापानबासि नेपालीहरुको अभिभाबक भएको हिसाब ले राजदुताबासले वा एन.आर.एनले यस बिसयमा सदैब रमिते हुनु बाहेक जापान बासि संघ संस्था हरुलाई एकत्रित गर्दै एक द्वार प्रणालीको ठोस कदम चालेर अगाडी बढ्ने गरि ब्यबस्थापन गर्न सके देखि तितर बितर भएर जाने सहयोग एकत्रित भै ठोस कार्य सम्पादनमा प्रभाबकारी भूमिका हुने थियो कि जस्तो लाग्छ। 

जब जब विभिन्न खालका चन्दा संकलन हुन्छ सदैब मारमा सामान्य कामदारहरु परिरहेका हुन्छन। नेपाली को लागि भनेर सकी नसकी सहयोग गर्यो साहुहरुले त्यहि सहयोगलाइ आफ्नो जातिय संस्थाको नाम बाट अगाडी बढाउछन् या सहयोग गर्ने व्यक्ति संग सम्बन्धित नै नभएको राजनीतिक या क्षेत्रीय संस्था बाट अगाडी बढाउछन् जसले गर्दा आफुले सकी नसकी गरेको सहयोग साहुहरुले आफ्नो व्यक्तिगत स्वार्थ अथवा सामाजिक लाभको लागि मात्रै प्रयोग गरेको देखेर खिन्न हुन बाध्य छन् सामान्य कामदार हरु यसरि नितान्त व्यक्तिगत श्रम को चरम दुरुपयोग गर्दै क्षेनिक स्वार्थमा रमाउने प्रवृति हरु पनि सामाजिक बिकृतिको लागि आजको दिनमा भयानक हुदै गएको स्थिति छ जसलाई मानब अधिकारको चरम दुरुपयोग को रुपमा पनि लिन सकिन्छ जसको निराकरण के होला कसरि होला भन्ने ठुलो प्रश्न चिन्न पनि खडा भएको बर्तमान परिस्थिति छ।

बढ्दो चन्दा आतंक लाइ नियन्त्रण गर्ने अर्थात् सुब्यब्स्थित गर्न को लागि  सबै संघ संस्था हरुले सस्तो लोकप्रियताको लागि सामाजिक असामनजस्य र मतभेद बढाउने खालका कुरा हरुलाई रोक्ने अथवा नियन्त्रण तथा ब्यबस्थित् गर्ने तिर लाग्दा भोलिको जापानबासी नेपाली  समाज को उदाहरनियरुप नदेखिएला भन्न सकिन्न।यसलाई आगामी दिनमा ब्यबस्थित गरि अगाडी बढाउनको लागि नेपाली राजदुताबास र एन.आर.एन जापानले नेत्रित्वदाई भुमिका खेल्दै जापानमा सक्रिय सम्पूर्ण संघ संस्था बीच छलफल गरि अगाडी बढ्नु आजको आबस्यकता हो कि जस्तो महसुस भएको छ।

जापान बसाइको झन्डै १२ बर्षको अनुभबमा आफ्नो समय र हैसियत अनुसार सामाजिक कार्यमा समर्पित गर्दै गर्दा सहयोगको लागि एक एन पनि खर्च गर्न नचाहने केहि पात्रहरु जब उसको जातको या समाजको पर्छ अकल्पनीय तरिकाले सक्रियता जनाउछ।सहयोग गर्न तत्पर हुनु अत्यन्त सकरात्मक पाटो हो तर त्यसबखत वहाहरुलाई राजनीतिक डोरीले तान्छ अथवा जातीय डोरीले ने तान्छ या के ले तान्छ जे ले तानेपानी सहयोगी भावनाको जागृत गराएकोमा खुसि लाग्छ  तर यस्ता किसिमको सहयोगहरु नेपाली मनले सबै संघ संस्थाहरु एकत्रित भै अभियानको प्रमुख जिम्मेवारी लिएर अगाडी बढेको अर्थात् सहयोगको प्रकृति अनुसार नजिक रहेको अभियान सुरु गर्ने संस्था प्रति एक्यबद्दता जनाउदै सामाजिक एकताको संदेश दिन नसकेकोमा भने दुख लागेको छ। आसा छ भोलिका दिनहरुमा जापानमा सक्रिय संघ संस्थाहरुले सस्तो लोकप्रियता भन्दा आपसी एकता लाइ महत्त्वो दिदै आफ्नो संकुचित मानसिकता बाट केहि माथि उठी जापानमा आइपर्ने र मातृभूमिमा आइपर्ने समस्याहरुमा एकतृत भै एकताको संदेश दिन अगाडी बढ्नेछन साथमा सहयोगका कुराहरुको प्रस्ताब लिएर आउने व्यक्ति या संस्था हरुले सहयोगको स्वरुप को यथेस्ट अध्ययन र जानकारी लिएर मात्र अभियान चलाउने निश्चित मापदण्ड तय गर्न सके मानबिय सहयोग लाइ दुरुपयोग गर्दै आम्दानि को श्रोत बनाउन खोज्ने हरुलाई पनि हतोत्साहा गर्ने थियो भन्नेमा अत्युक्ति नहोला।

बिट मार्दै गर्दै आफ्नो दुखलाई भुलेर अरुलाई सहयोग गर्न पाउदा रमाउने हाम्रो सम्पूर्ण सहयोगी मनहरुलाई म हृदय देखि नै धन्यबाद दिन चाहन्छु, यद्दपि यस्तो खालको सहयोगलाइ जातीय,राजनीतिक रंग नदिएर एउटा नेपाली को परिचय दिदै  एकत्रित भै एकताको संदेसको साथमा गर्न पाए अझै सुनमा सुगन्ध हुनेथियो कि भन्ने मेरो विचार।

Leave a Reply

Top