You are here
Home > साहित्य > युगनायक डा.सन्दुक रुइतलाई भेट्दा …

युगनायक डा.सन्दुक रुइतलाई भेट्दा …

 

    अनुभूति..

सुमन थापा सङ्गम

जीवनको लय भत्किँदा एउटा कोमल हृदय भत्किन्छ । एउटा कोमल हृदय भत्किँदा एउटा व्यक्ति भत्किन्छ । एउटा व्यक्ति भत्किँदा सिङ्गो समाज भत्किन्छ। समाज भत्किँदा सिङ्गो देश भत्किन्छ । त्यही एउटा कोमल हृदय भत्किनबाट जोगाउन सके  सिङ्गो राष्ट्र जोगाउन सकिन्छ।

सपना देख्ने मन, सपना देख्ने आँखा कतै हराइरहेको हुन सक्छ । कतै डराइरहेको हुन सक्छ । कतै नहराओस्, कतै नडराओस्, यही सोचेर सिङ्गो राष्ट्र जोगाउन अहोरात्र खटिरहेका युगनायक हुन् डाक्टर सन्दुक रूइत !

सरल व्यक्तित्व र सबैलाई समान व्यवहार गर्ने राष्ट्रको एक होनहार व्यक्ति हुन् उनी । उनको जन्म ताप्लेजुङको ओलाङ्चुङगोलामा २०११ भदौ १९ मा भएको थियो । अध्ययनको सिलसिलामा सात वर्षको उमेरदेखि आमाको काख छोडेका उनले दार्जिलिङ, काठमाडौ, भारत, अस्ट्रेलिया हुँदै आफ्नो अध्ययन पूरा गरेका थिए ।

परिवारका दाजु र दुई दिदीको मृत्युले भावविह्वल भएका सन्दुकमा डाक्टर बन्ने सपना त्यही वेलादेखि उदाएको थियो । डाक्टर बनेर सेवा दिइरहेका वेला सन् १९८० मा अस्ट्रेलियन आइ सर्जन फ्रेड हलोजलाई भेटे । त्यो भेटले डाक्टर रूइत आँखा उपचारमा अग्रसर भए।

उनी दूरदराजका गाउँहरूमा बिरामीका माझ पुग्ने गर्छन् । धेरैले उनको इतिहास पढेर, सुनेर चिन्नु स्वभाविक हो तर मैले अति नजिकबाट चिन्ने मौका पाएँ  । उनलाई भेटेर म गौरन्वान्वित भएकी छु। ‘फलेको हाँगो कहिले पो छ र ननुहिरहेको’ भन्ने उक्ति डाक्टर रुईतमा लागू हुन्छ । होनहार व्यक्ति पनि यतिसम्म सरल र समान व्यवहार गर्नसक्ने रहेछन् भन्ने कुरा डाक्टर रूइतलाई भेट्दा मात्र थाहा पाइन्छ।

जब शरीरका कुनै पनि अङ्गहरू असक्षम हुन्छन् तब मान्छेमा निराशा पैदा हुन्छ, मनोबल घट्छ र बिस्तारै भत्कँदै जान्छ। त्यस्तो अवस्थामा कसैले छहारी बनेर ढपक्कै ढाकिदिँदा कति खुसी मिल्छ भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन।

हो त्यसरी नै मेरो छहारी बनेका थिए डाक्टर सन्दुक !

मैले १२ वर्षको उमेरदेखि नै आँखाको ज्योति कम भएर चस्माको प्रयोग गर्दै आएकी थिएँ । केही समयपश्चात् आँखामा जलबिन्दु (आँखाको प्रेसर) देखा परेपछि ग्लुकोमोल औषधी थप प्रयोग गर्न सुरु भएको थियो। पछिल्लो समय चस्माले पनि काम गर्न छोड्यो, आँखामा मोतिबिन्दुले ढपक्कै ढाकेको रहेछ ।

तिलगङ्गा आँखा अस्पतालमा लामो समयदेखि नै उपचारार्थ थिएँ म ।

आँखाको अप्रेसन गर्ने निधो भयो। मेरो नियमित आँखा उपचार गर्ने डाक्टरसँग भन्दा डाक्टर सन्दुक रूइतसँग अप्रेसन गराउन पाए हुन्थ्यो भन्ने चाहना थियो। तिलगङ्गामा अप्रेसनको मिति तय गर्ने क्रममा आफ्नो चाहना त्यहाँका डाक्टर समक्ष राखें। आँखाको भिजुयल चेक गर्ने डाक्टर मिलनसार रहेछन्। मेरो चाहनालाई उनले  सहज बनाइदिए।

उनले भने, ‘बिरामीले डाक्टर छान्न पाउने अधिकार छ तपाईं जोसँग अप्रेसन गराउन चाहनुहुन्छ, उहाँसँग गर्नुहोस् । तपाईँले मिति तय गर्न जाने वेला उहाँलाई भन्नुहोस्, पाउनुहुन्छ।’

म निकै खुसी भएँ । म सबै तयारीका साथ अप्रेसनको मितिमै अस्पतालमा पुगें। पहिलो तल्लामा रहेको २१५ नं कोठामा रगतमा सुगरको लेभल र कोभिडको रिपोर्टसहित गएकी थिएँ । सबै कागजातसहित फारम भरेर म अप्रेसनको तयारी अवस्थामा बसें ।

आँखामा केही थोपा औषधी दिइयो। ब्लड प्रेसर जाँचपश्चात् अप्रेसन गर्दा लगाउने सुरक्षित पहिरन फेर्न भनियो। सुरक्षित पहिरन फेरेपछि म अप्रेसन थिएटरमा प्रवेश गरें । भित्र मजस्ता बिरामी थुप्रै थिए । सबैले आफ्नो पालो कुरेर अप्रेसन थिएटरको कुर्सीमा बसिरहेका थिए । सुरक्षित पहिरन, प्याजी रङको टोपी, सोही रङको सुरवाल, कमिज र मोजा अनि मुखमा आकाशे रङको मास्क लगाएर सबै चुपचाप थिए। तीनलाई देख्दा कताकता अर्कै लोकमा पुगेको अनुभूति भयो।

म स्वयं त्यही पहिरनमा भए पनि मैले आफूलाई बिर्सिएकी थिएँ। चुपचाप कुनै सभामा आज्ञा पालनका निम्ति पालो कुरिरहेका थियौं हामी ! म पालैपालो ती सबै मुख छोपेर बसेका मान्छेहरूलाई हेरिरहेकी थिएँ। देवदूतजस्ता देखिने ती बिरामीहरू  भित्र जाँदै र निस्कँदा आँखामा पट्टी लगाएर डो¥याइँदै निस्किँदै थिए। म अर्कै लोकमा पुगे जस्ती भएर एक तमास बसिरहेकी थिएँ। त्यहाँ आँखा अप्रेसनभन्दा अगाडि नदुख्ने औषधी प्रयोगको निम्ति मेरो नाम बोलाइयो। म नजिकैको बेडमा पल्टिएँ र औषधी प्रयोगपछि भित्र जाने पर्खाइमा थिएँ। केही छिनपछि मलाई भित्र लगियो।

डाक्टर अर्को बिरामीको अप्रेसन गर्दै थिए। मैले उनलाई हेरें, डाक्टर मेसिन अघिल्तिर पूरै सेतो पहिरनमा थिए। मलाई बेडमा सुताएपछि मेरो अनुहार मास्क जस्तो रुमालले ढाकियो।

सुरुमा डाक्टरले आँखामा केही मेसिन छिराए जस्तो महसुस गरें । त्यो सुरुवाती वेला आँखाले केही देखेको थिएन जब अन्तिमतिर हुँदै गयो मेरो आँखाले मसिनो सियो जस्तो बस्तु र डाक्टरका औलाहरू चलेको देखें । त्यही वेला मलाई यस्तो खुसी अनुभूति भयो कि मैले यो विषयमा लेख्नै पर्छ भन्ने लाग्यो।

डाक्टरले ‘सकियो उठ्नुहोस्’ भने। त्यही वेला मैले भनें, ‘डाक्टरसा’ब हजुरसँग केही कुराकानी गर्न मन लागेको छ।’

‘नानी ! मलाई शनिवार ९ बजेतिर फोन गर है ! फोन गर्न त सक्छ्यौ नि ?’, डाक्टर रुइतले भने।

मैले ‘सक्छु डाक्टरसा’ब्’ भनें। उनले मलाई आफ्नो मोबाइल नम्बर दिए।

मैले फोन गर्दा उनले उठाउलान् कि नउठाउलान् ? मेरो लेख्ने सपना पूरा होला ? घर फर्किंदा मनमा यस्तै तर्कना खेलिरहेका थिए।

मलाई कहिले शनिवार आउला भन्ने भयो। ३/४ दिनको पर्खाई पनि निकै लामो लाग्यो। शनिवार त आयो फेरि कहिले ९ बज्ला भन्ने भयो। ९ बज्यो, मैले फोन गरें २/३ घण्टीमै डाक्टरले फोन उठाए, ‘भन त नानी  के कुरा हो ?’

म तीनछक्क परें। कसरी सम्झिरहेका उनले ? मैले आफ्ना कुरा राखें २/३ दिनमा तिलगङ्गामा गएर अप्रेसन गरेको आँखा पुनः देखाउनु थियो। त्यही समयमा उनले  आफ्नो क्लिनिक नागपोखरीस्थित ‘आइ किएर क्लिनिक’मा बोलाए।

म समयमै त्यहाँ पुगें।

आँखाको स्थिति चेकजाँच गरेपछि केही कुरा सोध्नु छ भनेर पहिले नै भनेकी थिएँ, त्यसैले हामी नजिकैको कफी सपमा पुग्यौं।

उनको सरलता र सबैसँगको समान व्यवहारले म निकै आकर्षित भएकी थिएँ।

मैले डाक्टरसँग मेरो पहिलो जिज्ञासा राखें, ‘डाक्टरसाब हजुर कहिलेसम्म यसरी आफ्नै उपस्थितिमा बिरामीको सेवा गरिरहनुहुन्छ ?’

उनले पहिला ‘सकुन्जेल!’ भने। अनि फेरि भने, ‘अब ३/४ वर्ष गर्छु अब आफ्नो उमेर पनि हेर्नुपर्‍यो ।’

‘तिमीले अप्रेसन र तिलगङ्गाको सहयोगीहरूको बारेमा कस्तो फिल गर्‍यौ ?’, अब उनले पो मलाई सोधे।

‘कहीं राम्रो, कहीं नराम्रो पक्कै पनि हुन्छ तर समग्रमा हजुरप्रतिको मेरो विश्वास सम्पूर्ण बिरामीले ढुक्क भएर उपचार गरे म निकै खुसी हुन्छु’ भनें मैले।

मेरो अर्को जिज्ञासा, ‘मोतिबिन्दुको अप्रेसनपछि हाम्रो आँखाको नेचुरल नानीले काम गर्न सुरु गर्छ ?’

उनी भन्दै गए, ‘होइन, मोतिबिन्दु ६०/६५ वर्षको उमेरमा देखिने रोग हो तर विभिन्न कारणले तिम्रो र कसै–कसैको उमेरभन्दा पहिला देखिन्छ। त्यो नानी धमिलो हुँदै गएर जमेको हुन्छ। त्यसलाई हामीले प्रविधिको सहायताले अल्ट्रासाउन्ड मेसिनद्वारा निकाल्छौं, सफा गर्छौं, सम्पूर्ण सफा भैसकेपछि अन्तिममा आर्टिफिसियल लेन्स तपाइँलाई चाहिने लेन्स (इन्टाकुलर) लेन्स हाल्छौं  र बिरामीले पुनः देख्न सक्ने हुन्छन्। त्यो लेन्स हालिएन भने देख्न सक्दैनन्।’

यी अग्ला पहाडहरू, यी हिमाल, यी आकाश र यो धर्ती जस्ले सन्दुक रुइत जस्ता सपूत खोजिरहेको हुन्छ। घाम पनि किरण बनी बगेर प्रत्येक मान्छेहरूलाई छोएर ‘म छु है’ भनिरहे झैं डाक्टर सन्दुकले मोतिबिन्दुको बिरामीहरू माझ घामको किरण बनेर उज्यालो दिइरहेका छन् ।

मोतिबिन्दुको कम लागतमा चिकित्सा पद्धति ‘रुइतेक्टोमिक’ को सुरुवातकर्ता पनि डाक्टर रुइत नै हुन्।

डाक्टर रुइतकाअनुसार नेपालमा करिब पाँच लाख जति मानिसहरू मोतिबिन्दुको बिरामी छन्। तिनीहरूसम्म पुग्ने उनको प्रयासलाई सलाम !

डाक्टर रुइतले एकजना बेलाइती व्यक्तिको सहयोगमा फाउन्डेसन खोलेका रहेछन्। मोतिबिन्दुका बिरामीलाई यो कोभिड १९ को बन्दमा पनि पश्चिम धनगढीदेखि पूर्वसम्म दुई हजारजना जतिलाई उपचार गरेको कुरा उनले सुनाए। यस्तो उपचार नेपाललगायत विदेशमा पनि सहज र साक्षात गराउने लक्ष्य उनले सुनाए।

भुटान, इन्डोनेसिया, म्यानमार, बर्मा, इथोपिया र अफ्रिकाका केही स्थानमा प्रायोजन गर्ने लक्ष्य रहेको र अबको ४/५ महिनामा नेपालमा रहेका बीसदेखि पच्चीस हजारसम्म मोतिबिन्दुका बिरामीहरूलाई उपचार गरेर संसार देख्न सक्ने बनाउने लक्ष्य रहेको समेत जानकारी दिए ।

सन्दुक रुइत विश्वभर चर्चित व्यक्ति हुन्। उनले गरेको कामलाई नेशनल जोग्राफीले वृतचित्र बनाएर प्रसारण गरेको थियो। आज पनि उनको सम्मान गर्दै नेशनल जियोग्राफी र बीबीसी जस्ता चर्चित च्यानलहरूले प्रसारण गरिरहन्छन्। उनलाई अस्ट्रेलियन सरकारले ‘अर्डर अफ अस्ट्रेलिया’कदरले सम्मान गरेको छ। वि.सं. २०६३ मा विश्व प्रसिद्ध ‘रामोन म्यागासेसे’ पुरस्कारबाट सम्मानित भएका छन्। नेपाल सरकारले पनि उनको योगदानको उच्च मूल्याङ्कन गरेर वि.सं. २०६९ मा उज्ज्वल कृतिमय ‘राष्ट्रदीप’ पदकले सम्मान गरेको छ।

साधारण परिवारमा जन्मिएका व्यक्ति लगन र दृढताका कारण विश्वभर चर्चित छन्। आफ्नै देशमा बसेर पनि धेरै थोक गर्न सकिन्छ भन्ने उदाहरण हुन् डाक्टर सन्दुक रुइत।

वास्तविक जीवन जिउन भोको पेट, नाङ्गो शरीर र अस्वस्थ जीवनचर्या घातक हुन्छ। यी सबैबाट जोगिन सर्वप्रथम शारीरिक स्वस्थता आवश्यक हुन्छ।

यो लक्ष्य पूरा गर्न र सपनालाई विपनामा परिणत गर्न उपचार अनुभूत गरिसकेका म जस्ता बिरामीलगायत सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न जरुरी हुन्छ।

मनले देखेका सुन्दर सपना आँखासम्म पुग्न र सुन्दर प्रकृतिको मोहमा रमाउन पनि त आँखा स्वस्थ हुनु पर्‍यो नि ! सुन्दर सपना पूरा गराउन लागिपरेका युगनायक डाक्टर सन्दुक रुइत र तिलगङ्गा आँखा अस्पतालमा सेवा दिनुहुने सम्पूर्णमा कृतज्ञता प्रकट गर्दछु ।

आज संसारले डा. रुइतको सम्मान गर्छ। जति विदेशीले उनलाई चिनेका छन् त्यति हामी नेपालीले चिन्न सकेनौं कि जस्तो लाग्छ मलाई। अस्ट्रेलियाकी पत्रकार अलि ग्रिपरले तीन वर्ष संगत गरेर डाक्टर रुइतको जीवनकथा लेखेको कुरा साथीहरुबाट सुनेकी थिएँ, पढेकी थिइन। अङ्ग्रेजीमा छापिएको पुस्तकलाई लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका रहेछन्। साथी अमृत भादगाउँलेले भर्खरै यो पुस्तक उपहार ल्याइदिएका छन्।

अप्रेसन गरेर निको भएका उज्याला आँखाले मैले तिनै देवदूतरुपि डा. रुइतको जीवनकथा पढ्न सुरु गरेकी छु। देशप्रेमी एवं मानवतावादी डा. रुइतको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु।

 

 

 

 

 

 

 

Leave a Reply

Top