एक थोपा पानीको मूल्य बालकथा साहित्य September 12, 2021 -राजकुमार जैन ‘राजन’ आकोला-३१२२०५ (चित्तौड्गढ) राजस्थान, भारत ‘मङ्गलू ! तिमीले आज फेरि धारा खुलै छोडिदियौ । नुहाइसकेपछि धारा बन्द गरिदिनुपर्छ नि ! कति धेरै पानी त्यतिकै बगेर खेर गयो ।’ मङगलूकी आमा रोमी हरिण भन्दै थिइन् । मङ्गलू हरेक दिन पानी बरबाद गर्थ्यो । बिहान दाँत ब्रस गर्ने वेलामा धारा पूरै खोलेर त्यतिकै छोडिदिन्थ्यो । खाना खाएर हात धुँदा पनि धारा बन्द गर्दैनथ्यो । आमा गाली गर्दै भनिरहन्थिन्-‘मङ्गलू, तिमीलाई कति पटक पानी खेर नफाल भनिसकेँ तर तिमी … ।’ ‘ओहो मम्मी, के फरक पर्छ र ! पानी नै त बगेर खेर गएको हो, दुध बगेको हैन क्यारे !’ मङ्गलू ओठे जबाफ दिन्थ्यो । ‘तिमीले धेरै पानी पाउँछौ । त्यसैले यसको महत्व र मूल्य बुझेका छैनौ । ती प्राणीहरुलाई सम्झ जो एक एक थोपा पानीका लागि तड्पिन्छन् ।’ आमा बड्बडाउँदै खाना पकाउँथिन् । दिउँसोको समय थियो । मङ्गलूले बाथरुममा भएको ठुलो टबमा पानी भर्यो र धारा खुलै छोडिदियो । भरिएको टबमा ऊ उफ्रिदै नुहाउन थाल्यो । धेरै बेरसम्म पनि मङ्गलू नुहाएर बाथरुमबाट बाहिर नआएपछि उसकी आमा रोमी बाथरुममा पुगिन् र भनिन्-‘ अरे, तिमीले कति धेरै पानी नाश गरेको ? हेर, कति पानी बगेर त्यसै खेर गइरहेको छ ।’ उनले धारा बन्द गरिन् । ‘गर्मी छ नि त मम्मी ! पानीमा खेल्न कति धेरै रमाइलो हुन्छ ।’ उसले जबाफ दियो । ‘हेर छोरा, तिमीले त्यति मात्रै पानी चलाउनुपर्छ जति आवश्यक छ । जति धेरै पानी बचाउँछौ त्यति धेरै खेतमा पानी लगाउन सकिन्छ । पानी पाएपछि बाली सप्रिन्छ । कारखानामा पनि पानी चाहिन्छ । चाहिने जति पानी नपाएर हाम्रो कारखाना बन्द भएको छ ।’ ‘तर मम्मी, हाम्रो धारामा पानी हाम्रा लागि नै त आउछ नि !’ ‘तिमीले आफ्नै घरमा यति धेरै पानी सजिलैसँग पाइरहेका छौ । त्यसैले तिमीलाई हामीजस्तै हजारौँहजार प्राणीहरुले एक बाल्टी पानी लिनका लागि टाढा टाढासम्म जानुपर्छ भन्ने कुरा थाहा छैन ।’ आमाले छोरालाई सम्झाउने प्रयास गरिन् । ‘तर मम्मी, बाबाले हरेक महिना पानीको पैँसा तिर्नुहुन्छ । हामी पैँसा तिरेर पानी किन्छौँ अनि हामीले किनेको पानीमा हामीले खेल्न चैँ किन नहुने ? आमाले सोचिन् जबसम्म यो आफैँ पानीका लागि तड्पिदैन तबसम्म यसले पानीको मूल्य र महत्व बुझ्दैन । उनी चुप लागेर केही सोच्न लागिन् । उनको दिमागमा एउटा जुक्ती आयो । आइतबार छुट्टीको दिन थियो । रोमी हरिणले भनिन्-‘मङ्गलू, तिम्रा चञ्चल काकाले छिमेकी जङ्गलमा कलेज बनाउनका लागि जग्गा किनेका छन् । त्यो जग्गा हेर्न जानु छ । म खाना बनाएर प्याक गर्छु । बुबा पनि जानुहुन्छ । चञ्चलका दुबै बच्चाहरु पनि हामीसँगै जान्छन् । कलेज बनाउने जग्गा पनि देखिन्छ अनि पिकनिक पनि हुन्छ । त्यहाँ गएर बेलुकासम्म घर फर्किएर आइसकिन्छ ।’ ‘आहा मम्मी ! आज कति रमाइलो हुने भयो ।’ मङ्गलूले खुसी हुँदै भन्यो । ठिक समयमा चञ्चल काका आफ्नो जिप लिएर आइपुगे । सबै तयार भैसकेका थिए । उनीहरु जिपमा चढे । आठ दश किलोमिटर पर गएपछि उनीहरु सुनसान ठाउँमा पुगे । सबै धेरै खुसी थिए । ‘दाइ ! कलेज बनाउनका लागि यो ठाउँ ठिक छ नि ?’ चञ्चलले मङ्गलूका बुबासँग सोधे । ‘हो, एकदमै राम्रो छ । मान्छेको बस्तीबाट पनि टाढा छ । जङ्गलका जनाबरका बच्चाहरुले पनि उच्च शिक्षाका लागि बाहिर जानुपर्दैन ।’ मङ्गलूका बुबाले भने । ‘दाइ, तपाईँहरु पिकनिक मनाउनुस् । मलाई अलिकति कामका लागि सहर जानु छ । बच्चाहरु यहीँ तपाईँहरुसँगै बसून् । तपाईँहरुलाई कति वेलासम्म लिन आऊँ ?’ ‘हामीले खेल्ने कुराहरु ल्याएको छौँ । तपाईँ ढिलो आउनुस् … । साँझको पाँच बजेसम्म ।’ बच्चाहरुले एकै स्वरमा भने । त्यहाँ एउटा मात्रै झ्याम्म परेको बरको रुख थियो । रोमीले त्यसकै तल दरी ओछ्याइन् । सबै त्यसैमा बसे । बच्चाहरु ब्याटमिन्टन खेल्न थाले । केही समयपछि मङ्गलूले आमाको नजिकै आएर भन्यो-‘मम्मी, पानी दिनुस् न ! तिर्खा लाग्यो ।’ रोमीले आफ्नो साथमा ल्याएको पानीको बोतल छोरालाई दिइन् । केही समयमा नै बच्चाहरुले बोतलको पानी पिएर बोतल खाली गरे । मध्यदिन हुँदासम्म बच्चाहरुलाई भोक लाग्यो । रोमीले सबै बच्चाहरुलाई खाना पस्किन् । खाना सबैलाई अत्यन्तै स्वादिष्ट लाग्यो । खाना खाएपछि बच्चाहरुले पिउनका लागि पानी मागेपछि रोमीले भनिन्-‘पानी त त्यही एक बोतल मात्रै ल्याएको थियो । त्यो एक बोतल पानी तिमीहरुले पिइसक्यौ ।’ मङ्गलूले चारैतिर हेर्यो । निकै टाढा एउटा ह्यान्डपम्प देखियो । तीनै जना बच्चाहरु खाली बोतल लिएर ह्यान्डपम्प भएतिर दौडिए । त्यहाँसम्म पुग्दासम्म उनीहरु पसिनाले निथ्रुक्कै भइसकेका थिए । उनीहरुलाई झनै तिर्खा लाग्यो । उनीहरुले पम्पको ह्यान्डिल समातेर चलाउन खोजे तर ह्यान्डिल फुस्केर तल भुइँमा खस्यो । पानी निस्किएन । ‘यो ह्यान्डपम्प त बिग्रिएको रहेछ ।’ मङ्गलूले भन्यो । त्यहाँ टाढासम्म अरु कुनै ह्यान्डपम्प देखिएन । त्यहाँबाट बरको रुखसम्म आइपुग्दा तीनैजनाको हालत एकदमै खराब भैसकेको थियो । सबैभन्दा सानो हरिण त रुन लाग्यो । ‘लाऊ यो सुन्तलाको केस्रा चुस ।’ रोमीले टोकरीबाट सुन्तला निकालेर दिँदै भनिन् । उनले सबैलाई सुन्तला दिइन् । सुन्तला खाएपछि मङ्गलूले भन्यो-‘सुन्तलाले त तिर्खा मेटिएन मम्मी, मलाई त पानी नै चाहियो । तिर्खाले मेरो सास जान लागिसक्यो ।’ ऊ रुन थाल्यो । ‘छोरा, अब मैले यहाँ कहाँबाट पानी ल्याऊँ ? प्रचण्ड गर्मी भइरहेको छ । तिम्रा काकाले पनि हामीलाई लिन बेलुकासम्ममा मात्र आइपुग्छु भनेका छन् । अब राती घरमा गएर धेरै पानी पिउनू छोरा ।’ रोमी हरिणले छोरालाई सम्झाइन् । तीन बज्दासम्म त बच्चाहरुको हालत एकदमै नराम्रो भैसकेको थियो । ‘ज्यादै गर्मी भयो मम्मी, काका कति वेला आइपुग्नुहुन्छ ? तिर्खाले घाँटी सुक्यो ।’ ‘तिमीहरुले नै पाँच बजेसम्म आए हुन्छ भनेको हैन ?’ बुबाले भने । ‘ओहो मम्मी, अब त सहनै नसकिने भयो । कतैबाट एक घुँट्को भए पनि पानी पाउन पाए कस्तो हुन्थ्यो ।’ मङ्गलूले बोतल टक्टक्याउँदै भन्यो । ‘लाग्दै छ अब तिमीले एक थोपा पानीको मूल्य र महत्व राम्रैसँग बुझ्यौ होला । एक एक थोपा पानीका लागि प्राणीहरु कसरी छट्पटिन्छन्, तड्पिन्छन् । यो कुराको अनुभव अब तिमीलाई भयो होला । चिन्ता नगर, तिम्रा काका आउँदै होलान् । मैले उनलाई तीन बजेसम्म आउनु भनेको थिएँ किनकि यति वेलासम्म तिमीले पानीको मूल्य र महत्व राम्ररी बुझिसकेका हुनेछौ ।’ आमाले भनिन् । त्यसै वेला टाढाबाट जिप आइरहेको देखियो । बच्चाहरु खुसीले उफ्रिए । ‘चञ्चल भाइ, हामी जुन कामका लागि आएका थियौँ, त्यो काम भैसक्यो । अब बच्चाहरुलाई पिउन पानी देऊ ।’ बुबाले भने । चञ्चल हरिणले जिपबाट पानीको बोतल निकालेर बच्चाहरुलाई पानी पिउन दिए । सबैले चिसो पानी घटघट पिए । ‘अब थाहा पाएँ मम्मी, जुन पानीलाई हामी नाश गर्थ्यौँ त्यसको एक एक थोपाको मूल्य कति हुन्छ । अब हामी कहिल्यै अलिकति पनि पानी खेर फाल्दैनौँ ।’ सबै बच्चाहरुले पानी खेर नफाल्ने कसम खाए । सबै हरिणहरु खुसीसाथ घर फर्किए । हिन्दीबाट अनुवादः सुमी लोहनी भाटभटेनी, काठमाडौं, नेपाल